सहमतिबाट संविधान ल्याउने पहल जारी –महामन्त्री सिटौला

फागुन २४, भद्रपुर-नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै वर्ग, जातजाति र समुदायलाई समेट्न सक्ने अग्रगामी सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् । झापाको भद्रपुरमा नेपाल महिला सङ्घ झापा क्षेत्र नं ३ द्वारा आज आयोजित कार्यक्रममा उहाँले आगामी जेठ १५ भित्रमा संविधान जारी गर्ने गरी सहमतिका लागि पहल भइरहेको उल्लेख गरे । विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमतिका आधारमा नयाँ संविधान निर्माण हुने बताउदै महामन्त्री सिटौलाले गणतन्त्र संस्थागत गर्न संविधान अपरिहार्य रहेको बताए । झापा क्षेत्र नं ३ का सभासद्समेत रहनुभएका सिटौलाले आरक्षणले मात्र नारी अधिकारको रक्षा हुन नसक्ने बताउँदै नारी एकता र सङ्घर्षले प्रतिस्पर्धी बन्न सकेमात्र अधिकार सुरक्षित हुने धारणा राखेका थिए ।