एकीकृत माओवादी नेर्तत्वको मोर्चा संसदीय समितिमा जान तयार

फागुन २४, काठमाडौँ -एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले व्यवस्थापिका–संसद् मातहतका सबै समितिका बैठकमा सहभागी हुने निर्णय गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले सत्तारुढ दल सहमतिका आधारमा संविधान निर्माण प्रक्रियामा केही मात्रामा लचक भएको देखिएपछि संसदीय समितिको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

गत माघ ११ गते संविधानका अन्तर्वस्तुमा सहमति नखोजी नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दल बहुमतीय प्रक्रियामा प्रवेश गरेको भन्दै तीस दलीय मोर्चाले संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

शनिबारमात्रै एमाओवादीको संसदीय दलको बैठकले संसदीय समितिको बैठकमा भाग लिने निर्णय गरेको थियो । मोर्चाको यो निर्णयका कारण व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिको बैठक बस्न सकेको थिएन ।