गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विमानस्थलमा अलपत्र परेकालाई सहयोग गर्ने

फागुन २३, काठमाडौँ – नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए ले सहयोग गर्ने भएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले नेपाल आउने तयारीमा विश्वकै विभिन्न विमानस्थलमा अलपत्र परेका नेपालीहरुलाई एयरपोर्टमै पुगी सहयोगमा जुट्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति शाखाहरुलाई अनुरोध गर्नुभएको छ ।

मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा, साउदी अरव लगायतका एयरपोर्टमा अलपत्र परेका नेपालीहरुलाई खर्च र बसोबासको समस्या देखिने थालेको भन्दै घलेले एनआरएन राष्ट्रिय समन्वय समिति शाखाहरुलाई सहयोगमा जुट्न आग्रह गर्नुभएको हो ।नेपाल आउने तयारीमा रहेका एनआरएन अध्यक्ष घले आफै बैंकक एयरपोर्टमै रोकिनु भएको छ । घलेले बैंकक एयरपोर्टमा अलपत्र परेका नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन पनि अपिल गर्नुभएको छ ।