त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारदेखि भासिएको टर्किस एयरको जहाजलाई रनवेमा

फागुन २३, काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारदेखि भासिएको टर्किस एयरको जहाजलाई रनवेमा ल्याइएको छ । विहान खाल्डोबाट पाँच फिट माथि उठाएर सन्तुलनमा ल्याइएको जहाज तानेर रनवेमा ल्याइएको हो । हिजो रातभरिको प्रयासपछि जहाजलाई काठमाथि ब्लाडर फुलाएर उचाल्न प्राविधिक टोली सफल भएको हो ।
ल्यान्डिङ गियर (पछाडिको चक्का) ४ फिटको काठको आधार र ब्लाडरको माध्यमबाट उचालिएको जहाजलाई रनवेमा ल्याइएको र पार्किङ स्थलसम्म र्पुयाईंदै गरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिनु भयो । विमानस्थलमा अहिले केहि समय पछि पत्रकार सम्मेलन गरेर पछिल्लो अवस्थाबारे जानकारी गराइने भएको छ । विमानलाई पार्किङस्थलसम्म पु¥याएपछि अन्तराष्ट्रिय उडान अवतरण सुरु गर्ने तयारी भैरहेको छ ।
पार्किङ स्थलमा र्पुयाएपछि अन्तराष्ट्रिय उडान अवतरण सुरु हुने छ । गत बुधबार दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प छ । उडान बन्द भएपछि काठमाडौंबाट विदेश उड्ने र विदेशबाट काठमाडौं आउने यात्रुहरु बिभिन्न देशका एयरपोर्टमा अलपत्र परेका छन् ।
साँझसम्ममा बिमानस्थल संचालन भएमा मात्र बिमान कम्पनीहरूले उडानको नयाँ तालिका तोक्नेछन् । तर, चार दिनदेखि एयरपोर्टमा अलपत्र परेका यात्रुका कारण तुरून्तै नेपाल आउने टिकट पाइहाल्न भने समस्या हुनसक्छ ।
यसैवीच नेपाल आउने प्रतिक्षामा बिभिन्न देशका बिमानस्थलमा हजारौं यात्रु चार दिनदेखि कुरिरहेका छन् । बिदेशी पर्यटकमात्र हैन, श्रम गन्तब्य मुलुकहरूबाट घर फर्किन लागेका नेपालीहरू र एनआरएन भवन शिलन्यासको कार्यक्रममा सहभागी हुन बिभिन्न देशबाट आउन लागेका गैरआवासीय नेपाली अगुवाहरु पनि बिभिन्न एयरपोर्टमा उडानको प्रतिक्षामा कुरिरहेका छन् ।