अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआईएले संगठनमा आमुल पुनर्संरचना गर्ने घोषणा

फागुन २३, काठमाडौँ – साइबर आक्रमणको खतरा सामना गर्ने उद्देश्यसहित अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआईएले संगठनमा आमुल पुनर्संरचना गर्ने घोषणा गरेको छ । व्यवस्थापकहरुमाथि अझ बढी जिम्मेवारी थप्ने र साइबर क्षमतामा बृद्धि गर्ने पुनसंरचनाको उद्देश्य रहेको बताइएको छ । सिआईएका प्रमुख जोन ब्रेडनले अहिलेसम्मकै ठूलो पुनसंरचना गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

ब्रेडनले कर्मचारीहरुलाई उपलब्ध गराएको विवरणमा ठूलो स्तरमा आक्रमणको खतरा र प्रविधिमा भएको विकासको असरका कारण परिवर्तन गर्न लागिएको उल्लेख छ । कारवाही सन्चालन गर्ने र गुप्तचर सूचना संकलन गरी त्यसको विश्लेषण गर्नेहरुको फरक फरक बिभाग र कार्यालयहरु रहँदै आएकोमा अब उनीहरुलाई एकसाथ १० वटा मिसनमा ल्याइने छ । आलोचकहरुले सेप्टेम्बर ११ को आतंकवादी हमलापछि आतंकवादीहरुलाई खोज्ने र मार्ने काममा सिआईए केन्द्रित हुँदा जासुसी तथा विश्लेषण गर्ने क्षमतामा ह्रास आएको भन्दै आलोचना गर्दै आएका छन् ।
यसैबीच अमेरिकाको इतिहासमा डाटा सुरक्षा तोडिएको एउटा ठूलो घटनामा दुईजना भियतनामी र एक जना क्यानेडेली नागरिक संलग्न रहेको खुलासा भएको छ । उनीहरु सन् २००९ देखि २०१२ सम्म कम्तिमा ८ वटा इमेल सेवा प्रदायक कम्पनिहरुको कम्प्युटरभित्र अनधिकृत रुपमा प्रवेश गरी र एक अर्ब इमेल ठेगाना चोरेको आरोप लागेको छ । त्यसबाट उनीहरुले २० लाख डलर भन्दा बढी कमाएको दाबी गरिएको छ । एजेन्सी