इराकी सहर अल–बगदादी आफ्नो नियन्त्रणमा आएको अमेरिकी सेनाको दावी

फागुन २३, बगदाद- इराक र अमेरिकी सेनाले इराकको अल–बगदादी सहरबाट चरमपन्थी संगठन इस्लामिक स्टेटका लडाकुहरुलाई लखेटेको दावी गरेको छ।

इस्लामिक स्टेटका लडाकुहरुको कब्जामा रहेको सहर पुनः आफ्नो नियन्त्रणमा आएको उनीहरुको दावी छ। आइएसले उक्त सहर गत महिना नियन्त्रणमा लिएको थियो ।
अल–बगदादी सहर अमेरिकी सेनाले इराकी सेनालाई प्रशिक्षण दिने गरेको शिविरबाट मात्र ८ किलोमिटरको दुरीमा छ।
अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको वक्तव्यमा अमेरिकी गठबन्धन सेनाको ‘सटिक र प्रभावकारी’ हवाई आक्रमणको सहयोगमा इराकी सेना सहर प्रवेश गरेको उल्लेख छ।
यता प्राचीन असिरिया सहरमा निमरुदको भग्नावशेष नष्ट गरेकोमा आइएसको कडा आलोचना भएको छ। इराकी अधिकारीहरुका अनुसार आइएस लडाकुहरुले १३औं सताब्दी पूरानो निमरुदको भग्नावेश नष्ट गरेका हुन् ।
इराकी सेनाका अनुसार उनीहरुले तिक्रिक सहर पनि कब्जा गर्न प्रयास गरिरहेका छन् । यो सहर मोसुल र राजधानी बगदादको बिचमा पर्दछ। यो अपरेशनमा तीस हजार सैनिक र शिया लडाकु संलग्न रहेको बताइएको छ।
गठबन्धन सैन्य कमाण्डरहरुका अनुसार गठबन्धन सेना तिक्रिकको दक्षिणस्थित अल–दौर सहर पुगिसकेका छन् ।
एक कमाण्डरले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार अल–दौरलाई ‘पूर्णरुपमा स्वतन्त्र’ गराइएको छ। तर, पूरा सहर स्वतन्त्र भयो भएन भन्ने विष्यामा स्पष्ट हुन सकेको छैन ।
इराकी सेनाको यो आक्रमणमा अमेरिकी गठबन्धन सेनाको हवाई आक्रमणले सघाइरहेको छ। २२ मार्चपछि गठबन्धन सेनाले आइएसका अखडाहरुमा २६ हवाई आक्रमण गरिसकेको छ। एजेन्सी