भारतबाट नेपाली जाली नोटको कारोबार

फागुन २२, काठमाडौं- भारतीय र नेपाली जाली नोटको उत्पादन भारतमा भई दुवै मुलुकमा वितरण हुने गरेको प्रमाण भारत सरकारसमक्ष पेस गरिएको छ। केही समयअघि सम्पन्न भारत(नेपाल संयुक्त कार्यदल बैठकमा नेपाल पक्षले सप्रमाण जाली नोटको उत्पादन र वितरणसम्बन्धी कार्य भारतीय भूमिबाट सञ्चालित भएको जानकारी भारतीय टोलीसमक्ष प्रस्तुत गरेको थियो।

गोप्य राखिएको उक्त विवरणबारे उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई नेपाली टोलीले फागुनको पहिलो साता अवगत गराएको थियो। भारतले हरेकजसो द्विपक्षीय सुरक्षा बैठकमा नेपालमा भारतीय नक्कली नोटको उत्पादन एवं वितरण अवैध तरिकाले भारतमा भइरहेको र त्यसले भारतलाई सुरक्षा तथा आर्थिक खतरा पुर्‍याएको दाबी गर्दै आएको छ।

नेपालले सप्रमाण भारतीय भूमिबाट त्यस्ता गतिविधि सञ्चालन भएको दाबी गरेको यो पहिलोपल्ट हो। नेपालले भारतीय नक्कली नोटमात्र होइन, नेपाली नक्कली नोट भारतीय सीमावर्ती सहर रक्सौलमा उत्पादन हुने गरेको तथ्य पनि भारतलाई बुझाएको जानकारी उच्च आधिकारिक स्रोतबाट अन्नपूर्णलाई प्राप्त भएको छ। भारतको मागअनुसार नेपाल पक्षले प्राप्त प्रमाण जाली नोटको उत्पादन हुने रक्सौलस्थित घरको लोकेसनसहित अन्य विवरण सुम्पिएको थियो। त्यसमा संलग्न केही व्यक्तिलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंसिर र पुस महिनामा सञ्चालित कारबाहीमा पक्राउ गरेका थिए। प्रहरीले भारत उत्तरप्रदेश जिल्ला इटाहा ९ग्राम पञ्चायत दत्तपुर कुन्जपुर गाउँ नागला० का २२ वर्षका धीरेन्द्र यादवलाई गत पुस २३ गते वीरगन्ज बसपार्कबाट भारतीय जाली नोट ९५ थानसहित पक्राउ गरेको अन्नपुर्णले छापेको छ ।

त्यसैगरी बाराको जितपुरमा गत पुसमै फेलापरेका नक्कली नेपाली मुद्राको छपाइ पनि रक्सौलमै भएको तथ्य पक्राउ परेका अन्य अभियुक्तहरूले स्वीकारेका थिए। नेपाल सरकारले प्रमाणस्वरूप रक्सौलमा छापिएको नेपाली एक हजार रुपैयाँको नोटको नमुना पनि भारतीय पक्षलाई दिएको छ।तर त्यस्तो मेसिनले भारतीय नक्कली मुद्रामात्र छुट्ट्याउने भएकाले त्यसले नेपाली जाली मुद्रा छुट्ट्याउन कुनै मद्दत नगर्ने तर्क गर्दै नेपाल पक्षले अस्वीकार गरेको थियो। नेपाल पक्षको नेतृत्व गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले गरेका थिए।