विश्‍वकप दक्षिण एसियाली राष्ट्रले जितोस् : संगीना वैद्य

फागुन २२, काठमाडौं-म तेक्वान्दो खेलाडी भए पनि क्रिकेट मेरो मन पर्ने खेल हो। जारी विश्वकपका खेलहरू भ्याएसम्म हेरिरहेकी छु। हेर्न नपाएका खेलको बारेमा पनि विभिन्न पत्रपत्रिकामा समाचार पढेर थाहा पाएकी छु। विश्वकपमा सोचेका टोलीले राम्रो खेलिरहेका छन्। भारत र पाकिस्तानबीचको खेलले मलाई विशेष लोभ्याउने गरेको छ। दक्षिण एसियाका यी दुई चिर प्रतिद्वन्द्वी राष्ट्रबीचको खेल हेर्नेको संख्या विश्वभर धेरै हुन्छ।

भारत र पाकिस्तानबीचको खेल मैले पनि चासो दिएर हेरें, तर पाकिस्तानले त्यति राम्रो खेल्न सकेन।बुधबार युएईसँग भने पाकिस्तानले राम्रो खेलेको छ।   पाकिस्तान विस्तारै खेलमा फर्किन्छ होला जस्तो लागेको छ। अहिले भारतले उच्चस्तरको खेल प्रदर्शन गरिरहेको छ। भारतको ब्याटिङ पनि उच्चस्तरीय छ।  बलिङ र फिल्डिङमा पनि कुनै कमी देखिएको छैन। भारतीय टोलीका विराट कोहोली मलाई मन पर्ने खेलाडी हुन्। कोहलीको खेल्नै शैली मलाई निकै राम्रो लाग्छ।

कप्तान महेन्द्रसिंह धोनीको खेलबाट पनि म प्रभावित छु। रिक्की पोन्टिङ अस्ट्रेलियाको कप्तान हुँदा मलाई अस्ट्रेलिया निकै मन पर्थ्‍यो। अहिले पनि अस्ट्रेलियाले राम्रो क्रिकेट खेलिरहेको छ।  चारपटकको विजेता अस्ट्रेलिया आफैंमा पनि सन्तुलित टोली हो। आयोजक राष्ट्र भएको हिसाबले अस्ट्रेलियाले विश्वकप जित्न सक्छ। यो विश्वकपमा मेरो समर्थन भने भारत र पाकिस्तानलाई नै छ।

पाकिस्तानको प्रदर्शन सन्तुलित देखिएको छैन। तर भारतले राम्रो खेलिरहेकाले उसलाई विश्वकप जित्न गाह्रो नभएको अन्नपुर्णले छापेको छ । जे होस्, दक्षिण एसियाली टोलीले नै विश्वकप जिते हुन्थ्यो भन्ने लागेको छ। प्रतियोगितामा भाग्यको पनि साथ चाहिन्छ।