दुर्घटनास्थलबाट टर्किस जहाज हटाउने काम अन्तिम चरणमा

फागुन २२, काठमाडौं-बुधबार बिहान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाज हटाउने काम अन्‍तिम चरणमा पुगेको छ।  भारतबाट आएको २५ जनाको विशेषज्ञ टोलीले हिजो साँझदेखि काम सुरुआत गरेपछि हटाउने काम अन्‍तिम चरणमा पुगेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार दुर्घटनाग्रस्त जहाजलाई सर्वप्रथम उठाउने काम गरिएको छ र बिग्रिएका सबै चक्काहरु फेर्ने काम भइसकेको विमानस्थलका प्रबन्धक पूर्ण चूडालले बताए। उनका अनुसार अब धकेलेर पछाडी लैँजाने काम बाँकी छ।

सो काम बिहान ९ बजेदेखि सुरुआत गरिनेछ । उनका अनुसार अहिले धावनमार्गमा लैजान घाँसे मैदानमा बाटो बनाउने काम भइरहेको छ। विमानस्थल अवरुद्ध बनेपछि आज मध्इान्ह सम्मका लागी सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ ।