काठमाडौँ- बनारस यात्रुबाहक बस सेवा आजबाट संचालनमा

फागुन २१,काठमाडौँ- काठमाडौँदेखि बनारसका लागि आजबाट यात्रुबाहक बस सेवा शुरु भएको छ । बिहान साढे ८ बजे दशरथ रङ्गशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रञ्जिते रे ले बससेवा संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

काठमाडौंबाट ६ सय चार किलोमिटरको दूरीमा रहेको बनारसका लागि आज २२ जना यात्रु बोकेर बस हिँडेको छ । बस भैरहवाको सुनौली नाकाबाट भारत प्रवेश गर्नेछ  । काठमाडौंदेखि बनारससम्मको एकतर्फी यात्रा गर्न दुई हजार १ सय ४४ भाडा तोकिएको छ । बनारसबाट काठमाडौँका लागि पनि आजदेखि नै बस सेवा भारतीय यातायात व्यवसायीले सञ्चालन गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले अब पोखरा–दिल्ली, लुम्बिनी–बौद्धगया, धनुषा–अयोध्या र काठमाडौं–पटनमा पनि बस सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । यसअघि  काठमाडौं–दिल्लीका लागि सिधा बस सेवा सञ्चालन गरिएको थियो ।