बाबुराम र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल बिच भेटघाट

फागुन २०,  काठमाडौं- भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसंग भेटवार्ता गरेका छन् ।  नेता भट्टराईले केजरीवाललाई भेटेर नेपालको पछिल्लो राजनीतिक परिस्थिती, संविधान निर्माणका बारेमा जानकारी गराएका थिए ।
दिल्लीमा भर्खरैमात्र इतिहास रचेर दोस्रो पटक मुख्यमन्त्री बनेका केजरीवालले भट्टराईलाई देश विकासका लागि लाग्न आग्रह गरेका छन् । विकास नै जनताको चाहाना भएकाले छिटो जनताको हितमा संविधान बनाएर विकासको गतिलाई तिव्र रुपमा अगाडी बढाउन सुझाव दिएको जनाइएको छ । ‘केजरीवालले संविधान भन्दा पनि विकासमा जोड दिएका छन् । विकास र सुशासन भएमा संविधान नभएको महसुस हुँदैन्,’ भट्टराईले भनेका छन् ।
नेता भट्टराईले मुख्यमन्त्री केजरीवाललाई आम आदमी पार्टीको कार्यालयमा भेटेका थिए । भेटमा भ्रष्टाचार, अनियमिततालगायत जनविरोधी गतिविधि अन्त्य गर्दै लोकतन्त्रको नयाँ मोडेलको विकास गर्ने विषयमा छलफल गरेका थिए । यस्तै, नेता भट्टराईले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई पनि मंगलबारै भेटेका थिए । भेटमा राष्ट्रपति मुखर्जीले नेपालका सबै दल र नेतालाई संविधान निर्माणमा सफलताको शुभकामना दिएका थिए ।