प्रधानमन्त्री कोइराला र प्रचण्डबिच औपचारिक वार्ताको तयारीबारे छलफल

फागुन २०, काठमाडौं -प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । संविधान निर्माणमा सहमति जुटाउन एकीकृत माओवादी नेतृत्वको बिपक्षी मोर्चासँग आजैदेखी गर्ने भनिएको औपचारिक वार्ताको तयारीवारे प्रधानमन्त्री कोइराला र मोर्चाको संयोजक समेत रहेका दाहालबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश अधिकारीले बताए ।

अधिकारीका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा करिब पौने घण्टा भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रियामा मिलेर अघि बढ्न दाहालाई आग्रह गरिएको छ । सहमति निर्माणका लागी पनि बार्ता र संवाद आवश्यक भएकाले प्रमुख दलहरुबीच वार्ता शुरु गर्ने विषयमा दाहाल समेत सकारात्मक भएको बताइएको छ । कंग्रेस एमालेको हिजो बसेको बैठकले संविधान निर्माण प्रक्रियालाई अघि बढाउन आजैदेखी बिपक्षी दलहरुसँग छलफल थाल्ने निर्णय गर्दै त्यसको जिम्मा प्रधानमन्त्री कोइरालालाई दिएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री कोइराला र दाहालबीच संविधान निर्माणमा सहमति जुटाउन प्रमुख दलहरुबीच तत्काल वार्ता प्रक्रियालाई अघि बढाउने विषयमा सहमति भएको छ । आजैदेखी संयुक्त बार्ता गर्ने भनिएपनि एकीकृत माओवादी अध्यक्ष दाहाल आज पोखरा जान लागेको र अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाइएकाले दलहरुबीचको वार्ता भोलीदेखी शुरु हुने बालुवाटार स्रोतले जनाएको छ । अनौपचारिक सहमतिपछि प्रमुख दलहरुबीच हुने औपचारिक वार्ताको समय तय गरिनेछ ।