संस्कृतिको नाममा हुने विकृति रोक्ने तयारी

फागुन  २०,  काठमाडौँ- प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीदेखि मनाइने फागु पर्वको तयारी यतिखेर तीव्र रुपमा बढेको छ । काठमाडौँ उपत्यकामा पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट मनाइने यो पर्व निकै उत्साहका साथ मनाउने गरिन्छ । फागु पर्व रङहरूको पर्व भएका कारण यस समयमा रङको व्यापार निकै हुने गर्छ ।

होलीका लागि रङ, बेलुन तथा प्लास्टिकको व्यापार यतिखेर दिनप्रतिदिन बढ्दै गएको छ । एक साताअगावै आफ्नो किराना पसलमा फागु सामाग्री राखिसकेको कलङ्कीका सुमन घिमिरेले बताए । प्राचीन परम्पराअनुसार हनुमानढोकामा फागुन शुक्ल अष्टमीका दिन चीर गाडेपछि फागु पर्व औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका विभिन्न पर्वमध्ये खास विशिष्टता बोकेको फागु पर्व अबिर छर्केर मनाइनाका साथै होली गीत गाइन्छ । पर्वलाई जीवन्तता दिन हर्षोल्लासका साथ मनाइनुपर्नेमा पछिल्ला समयमा संस्कृतिका नाममा विकृति अत्यधिक बढ्दै गएको छ । अबिर छर्केर खेल्ने यो पर्वमा प्लास्टिकमा पानी राखेर छ्याप्नाका साथै फोहर पानी तथा कुहिएका अन्डा, इनामेल, मोबिलजस्ता वस्तुले हान्ने गरिएको छ ।