राजश्व छल्ने कम्पनीमाथि कारबाही सुरु

फागुन १९, सुनसरी-अन्तस्शुल्कको स्टिकर दुरुपयोग गरी राजश्व छल्न सक्रिय सुनसरीको दुहबीस्थित पूर्वाञ्चल डिस्टिलरीमाथि कारबाही प्रक्रिया सुरु गरिएको छ । आफ्ना उत्पादनमा अन्तस्शुल्कको एउटा स्टिकरलाई च्यातेर आधा आधा प्रयोग गरेको पाइएपछि सो डिस्टिलरीमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको हो ।

यस क्रममा राजश्व अनुसन्धान कार्यालयले डिस्टिलरीका कागजपत्र नियन्त्रणमा लिएको छ । राजश्वको टोलीले सो उद्योगको गोदामबाट आधा आधा टुक्रा बनाएर टाँसिएको ठूलो परिमाणमा मदिरा बरामद समेत गरेको छ ।

राजश्व अनुसन्धान कार्यालयका प्रमुख गौरीशंकर उपाध्यायका अनुसार डिस्टिलरीका सञ्चालक राजेन्द्र साहलाई बयानका लागि बोलाइएको बताए । छानबिनपछि थप कानुनी कारबाही अघि बढाइने सो कार्यालयले जनाएको छ ।