‘छालाजन्य उद्योग विकासका लागि कच्चा पदार्थको भन्सार दर घटाउन जरुरी’

जीवन नेपाली 

अध्यक्ष, नेपाल छाला जुता उत्पादक संघ

 

 

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा चौथो बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी जारी छ । ‘कला कौशल हाम्रो, नेपाली व्राण्ड नै राम्रो’ भन्ने नाराका साथ फागुन १३ गते देखि काठमाडौंको भृकुटी भण्डपमा सुरु भएको प्रर्दशनीको आर्कषण, उत्पादन तथा औद्योगिक विस्तारका सम्बन्धमा संघका कार्यवहाक अध्यक्ष तथा मेला संयोजक जीवन नेपालीसँग इमेल खवर डट कमले गरेको कुराकानीको सम्पादित अंश :

कस्तो चलिरहेको छ छाला जुत्ता प्रदर्शनी ?
प्रर्दशनी अत्यन्तै सकारात्मक र राम्रै चलिरहेको छ । आम उपभोक्ताका लागि छालाबाट उत्पादित जुत्ता तथा वस्तुहरु यस मेलामा प्रदर्शनका लागि राखेका छौं । विशेष गरि लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु यहाँ छन् । हाम्रो उद्देश्य लघु उद्यमीलाई चिनाउनु पनि हो । हाम्रा उत्पादन चिनाउन पाउदा हामी खुशी छौँ ।

यस अघि पनि विभिन्न व्यवसायीले छालाका जुत्ताको पर्दशनी पनि यही स्थठानमा गरेका थिए । अहिले तपाईहरुले फेरी अर्को प्रदर्शनी गरिरहनु भएको छ । के फरक छ त्यो र यो मेलामा ?
विगतमा २ ४ वटा मेलाहरु सम्पन्न भए । ती मेलामा स्टक रहेका सामानहरु घटाउने काम भयो । आर्टिफिसियल जुत्ताहरु आउने लगायतका विकृती थिए । यो हाम्रो मेला विलकुलै फरक किसिमको छ । यो मेलमा कुनै आर्टिफीसियल सामान अथवा स्टक हटाउने खालका सामानहरु छैनन् । हामीले यो मेलाबाट ग्यारेण्टी दिएर सामान बेचिरहेका छौं । यहाँ प्रदर्शनका लागि ल्याइएका अधिकांश उत्पादन लघु उद्योग अन्तर्गतका हुन् । हाम्रो उद्देश्य यो मेला मार्फत ती उद्योगलाई चिनाउने पनि हो ।

ठुलो लगानी गरेर ब्राण्ड बनाएका कम्पनी संग प्रतिस्पर्धा गर्नेहरुका लागि त यो मेलाले मद्दत गर्ला । तर, जो सानो लगानी गरेर उत्पादन गर्ने उद्यमी छन् तीनको उत्पादन प्रर्वद्धनका लागि के गर्नु हुन्छ ?
उद्यमीले आफ्नो पहिचानको लागि ब्राण्ड दर्ता गर्नु आजको आवश्यकता हो । घरेलु उद्योग अन्तर्गत नै दर्ता गरेर सरकारलाई राजश्व तिर्नु पर्यो । तर, यी कुराहरुलाई हामी साना उद्यमीले चुनौतीको रुपमा लिइरहेका छौं । साना उद्यमी भने पनि यो व्यवसायमा लाग्न प्राविधिक रुपमा धेरै समस्या छ ।

कतिपय लोकल ब्राण्डका नाममा विदेशी कमसल उत्पादनलाई एसेम्बल गर्ने गरिन्छ । तपाईहरुसँग आवद्द भएकाहरुमा पनि त्यस्तो हुन्छ कि ? 

हाम्रोमा विलकुल त्यस्तो हुँदैन । त्यस्ता प्रबृतिलाई निरुत्साहित गर्न त यो संस्था खडा भएको छ । हामी स्वदेशी उत्पादनमा विकास गर्न चाहान्छौं । बरु अहिले हामीसंग दक्ष जनशक्तिको अभाव छ । जसले गर्दा उद्योगहरुले उत्पादन बृद्धि गर्न सकिरहेका छैनौँ ।

यो महोत्सवमा ब्राण्डेड उत्पादन प्रदर्शनीमा राखिएका छन् । तर, कतिपय छाला व्यवसायी सडक छेउमा सानो पसल थापेर बसेको छन् । उनीहरु पनि त उद्योगी हुन्। उनीहरुलाई यहाँ सम्म ल्याउन तपाईले कस्तो कदम चाल्नुहुन्छ ?
यस विषयमा हामी गम्भिर छौँ । दिनमा ५ देखि ७  जोर जुत्ता बनाउनेलाई पनि उद्यमी बनाउने गरि हामीले अभियान थालेका छौं । जसका लागि सर्वप्रथम उहाँहरु करको दायरमा आउनु पर्ने कुरा मैले यस अघि पनि उजागर गरेँ । करमा आउन डराउने उद्यमी पनि हुनुहन्छ । उहाँहरुलाई हामीले संस्थाकै पहलमा करको दायरमा आउन विभिन्न सल्लाह दिने गरेका छौं । हामी संस्थामा पनि सदस्यताको विभिन्न रुपमा वर्गीकरण गरेका छौं । जस्तो बुवा बाजेको पालादेखि छालाको काम गर्दै आउनुभएका उद्यमीहरुलाई पेशागत व्यवसायी अथवा उद्यमीका रुपमा उहाँहरुको पहिचान स्थापित गरेका छौं ।

यी त भए उद्योगका कुरा । वस्तुका कुरा गर्दा गुणस्तरको मापनले तपाईका उत्पादनलाई कुरा रुपमा लिनुहुन्छ ?
हामी हाम्रो काममा गर्व गर्ने उद्योमी हो । हामी यस मानेमा पनि गर्व गर्छौंकी हाम्रो उत्पादन राम्रो छ । टिकाउ र गुणस्तरीय हुन्छ । हामी गुणस्तरीय उत्पादनको पहिचानले नै आफ्नो उत्पादनको विस्तार गर्ने सोच र अभियानमा छौं । १ वर्ष ग्यारेण्डी सहित हामीले उत्पादित वस्तुको विक्री गर्ने गर्छौं ।  त्यसैले उपभोक्तालाई पनि हाम्रो उत्पादनको गुणस्तरमा ढुक्क हुन अनुरोध गर्दछौं ।

नेपालमा उत्पादित छालाका जुत्ता विदेशी जुत्ताका तुलनामा ‘महंगा हुन्छन्’ भन्ने उपभोक्ताको गुनासो सुनिन्छ । विदेशी जुताका तुलनामा नेपाली जुताहरु महंगा कसरी हुन जान्छन् ?
यो कुरामा पहिलो त सरकारी निकायको ध्यान जानु जरुरी हुन्छ । किनभने हामीले जुत्ता निर्माणका लागि सम्पूर्ण कच्चा पदार्थ बाहिरबाट आयात गर्नु पर्ने बाध्यता छ । छाला र जुताका सोलहरुको भन्सार एकदम धेरै छ । लागत बढी भएकाले मुल्य पनि बढी हुन जान्छ । सरकारले भन्सार दर तथा नेपालमै कच्चा पदार्थको उत्पादन गर्ने उद्योगको विकासका लागि कार्यक्रम ल्याउन सके नेपालमा उत्पादन हुने जुताको लागत कम हुन जान्छ । जो सस्ता पनि हुन्छन् । र, अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समेत सजिलो हुन्छ ।