थप दुई जनामा स्वाइन फ्लु फेला, नेपालभर स्वाइन फ्लु संक्रमण हुनेको संख्या ४३ पुग्यो

फागुन १९, चितवन – चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लुको लक्षण देखिएको पुष्टि भएको छ । दुई दिनअघि १४ बिरामीको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएकामा मध्ये थप दुईजनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यो सँगै चितवनमा उपचार गराएका ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । दुईजनामा स्वाइन फ्लुको संक्रमण भएको आज मात्रै पुष्टि भएको जानकारी कार्यालयले दिएको छ । अहिलेसम्म जिल्लाका ६० जनाको नमूना परीक्षणमा ६ जनामा स्वाइन फ्लु लागेको पाइएको हो । नेपालभरमा अहिलेसम्म ४३ जनामा स्वाइन फ्लु लागेको सार्वजनिक भएको छ ।

जिल्लामा स्वाइन फ्लुका बिरामी भेटिएपछि स्वाइन फ्लु बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । चितवन जिल्ला भारतसँग जोडिएको र नेपालकै तेस्रो पर्यटकीय क्षेत्र र विदेशीको बढी चहलपहल हुने भएकाले सतर्कतामा जोड दिन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।