विश्‍वकपमा पुस्तक पसलको चर्चा

मेलबर्न-खेलकुदसँग अस्ट्रेलियाको गहिरो नाता छ। त्यसलाई पुष्टि गर्ने थुप्रै आधार अस्ट्रेलियामा विद्यमान छन्। त्यसमा पनि मेलबर्न सहरलाई त अस्ट्रेलियामा खेलकुदको राजधानीकै रूपमा हेर्ने गरिन्छ।
यहाँ चर्चा गर्न लागिएको विषय मेलबर्न सहरमै रहेको एउटा यस्तो पुस्तक पसलको हो, जसको विश्व खेलकुदसँग गहिरो नाता गाँसिएको छ। पुस्तक पसल सानो छ, विश्व खेलकुदका लागि विशेष छ।
करिब तीन दशक पुरानो उक्त पसलमा विश्व खेलकुदसँगम्सम्बन्धित पुस्तक मात्र पाइन्छ। अस्ट्रेलियन खेलकुदमा मात्र होइन, विभिन्न प्रतियोगिताका क्रममा मेलबर्न पुग्ने खेलाडीका लागि समेत आकर्षणको केन्द्र बनेको छ, ५३ वर्षीय सेन्टो करुजोको स्वामित्वमा रहेको उक्त पसल।
२८ वर्षअघि सेन्टोले ‘मेलबर्न स्पोर्टस् बुक्स’ खोलेका थिए। उनले खोलेको पसल त्यसबेलाको एउटा मात्र त्यस्तो पसल थियो, जहाँ केवल खेलकुदसम्बद्ध पुस्तक पाइन्थ्यो।
पहिले पहिले मेलबर्न आउने हरेक खेलाडी उक्त पसलमा आउने गर्थे। विगतमा भारतीय क्रिकेटर राहुल द्रविड, अमेरिकी टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभा र अस्ट्रेलियाका महान क्रिकेटर सर डान ब्राड म्यानजस्ता खेलाडी विश्व चर्चित खेलाडी आफ्नो पसलमा आएको झझल्को अझै पनि आउँछ रे, सेन्टोलाई।
बदलिँदो विश्व परिवेशसँग यतिबेला उनको पसलको बिक्री घटेको छ। पछिल्लो १० वर्षमा आफ्नो पसलमा पुस्तकको बिक्रीमा ५० प्रतिशतले कमी आएको उनी बताउँछन्। यसको अर्थ हो, मेलबर्न सहरमा रहेको खेलकुदसँग सम्बन्धित एउटा इतिहास यतिबेला धर्मराउने अवस्थामा पुगेको छ।
सेन्टो भन्छन्, ‘यो एउटा इतिहास नै हो, त्यसैले म यसलाई सजिलै ढल्न दिन्नँ।’ अहिले अस्ट्रेलियामा विश्वकप क्रिकेटको ११ औं संस्करण जारी छ। त्यसैले यो पुस्तक पसलमा फेरि चहलपहल सुरु भएको छ।
विश्व क्रिकेटका चर्चित खेलाडीको आवतजावत पनि बाक्लो बनेको र पुस्तकको बिक्री पनि विगतको तुलनामा बढेको छ। त्यसैले यतिबेला पसलका मालिक सेन्टो पनि दंग छन्।
उक्त पसलमा अहिले पनि विश्व खेलकुदको विषयमा लेखिएका दुई हजार पाँच सय पुस्तक छन्। ‘मेलबर्न खेलकुदको सहर हो। यहाँ क्रिकेट, टेनिस र फर्मुला वानका चर्चित प्रतियोगिता हुने गर्छन्। त्यसैले मलाई आशा छ मेरो पुस्तक पसलले फेरि पनि नयाँ उचाइ लिनेछ’, उनले भने। –एजेन्सी