सरकारको नेतृत्व फेर्न एमालेको प्रस्ताव

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको कसरत
फागुन १९, काठमाडौं -एमालेले वर्तमान सरकारको नेतृत्व फेर्ने गरी कांग्रेस-एमालेबीच सत्ता साझेदारीको नयाँ सहमति हुनुपर्ने प्रस्ताव अघि सारेको छ। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर यस्तो प्रस्ताव राखेका हुन्।
एमाले स्थायी कमिटीको सोमबारको  बैठकमा  ओलीले आफूले प्रधानमन्त्रीसँग आइतबार साँझ भेट गरी सत्ता साझेदारीको नयाँ प्रस्तावबारे छलफल गरेको जानकारी दिएका हुन्।गतवर्ष माघ २६ मा भएको सात बुँदे सहमतिको अवधि माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्री समेत फेर्ने गरी सत्ता साझेदारीको नयाँ सहमति आवश्यकता रहेको  ओलीको धारणा रहेको छ।
‘कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिका आधारमा एमालेको समर्थनमा सुशील कोइराला प्रधानमन्त्री बन्नु भएको थियो तर उहाँले आगामी बैशाख ११ वा जेठ १५ मा संविधान बनाउने पनि जाँगर देखाउनुभएन’, एमालेका एक स्थायी कमिटी सदस्यले अन्नपूर्णलाई बताए, ‘नयाँ सहमति भनेको पुरानो सहमतिअनुसार बनेको सरकार पनि फेरिनुपर्छ भन्ने हो ।’एमाले बैठकमा ओलीले दिएको जानकारीबारे एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विस्तृत केही बनाएनन् । ‘दुई शक्तिबीच अघि बढ्न अबको रणनीति के हुनसक्छ भनेर स्थायी कमिटीमा छलफल भयो’, ज्ञवालीले भने, ‘बैठकमा हिजो कांग्रेससँग भएको छलफलबारे अध्यक्षले सामान्य ब्रिफिङ गर्नुभयो ।’

बैठकमा ओलीले एमाले नेपाली राजनीतिको केन्द्रमा रहेकाले खुल्लामञ्चको आमसभामा एमाओवादी आफूमाथि खन्निएको विश्लेषण सुनाएको पनि ज्ञवालीले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको सोमबारको बैठकमा दिएको जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आफूले यस्तो प्रस्ताव गरेको जानकारी दिएका थिए ।

एमालेका एक स्थायी कमिटी सदस्यले दिएको जानकारीअनुसार, एमाओवादीको आमसभापछि विकसित परिस्थितिबारे छलफल भएको उक्त बैठकमा प्रधानमन्त्री कोइरालाले बैशाख ११ वा जेठ १५ मै संविधान बनाउन जरुरी नभएको बताएका थिए ।

‘प्रधानमन्त्रीले सरकारको आयु कांग्रेसको भदौमा हुने महाधिवेशनसम्म धकेल्न खोजेको देखियो,’ उनले जानकारी दिए, ‘छलफलमा बरु कानूनमन्त्री नरहरि आचार्य र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले प्रधानमन्त्रीको भनाइलाई सच्याउने प्रयास गरेका थिए ।

एमाले अध्यक्ष ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक छलफल गरेपछि कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

कांग्रेस-एमाले बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षत्रय वामदेव गौतम, विद्या भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरू सहभागी थिए । अन्नपुर्ण पोष्टमा खबर छ ।

कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गर्न दुई पार्टीबीच भएको सात बुँदे सहमतिमा कोइरालालाई ०७१ माघ ८ सम्मका लागि प्रधानमन्त्री बनाउने, माघ ८ मा संविधान बनाएपछि प्रधानमन्त्री कोइराला, राष्ट्रपति रामवरण यादव, संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजीनामा गर्ने उल्लखे थियो ।

माघ ८ मा संविधान बनाएपछि एक महिनाभित्र नयाँ सरकारलगायत राज्यका महत्वपूर्ण पदहरूको निर्वाचन एक महिनाभित्र गर्ने उल्लेख थियो । त्यसपछि नयाँ सरकारको नेतृत्व एमालेलाई दिने भन्ने पनि ‘भद्र सहमति’ भएको एमालेको भनाइ छ ।