९ दशमलव ४ मेगावाट विद्युत् थपिएपछि केही समय लोडसेडिङ घट्ने

फागुन १८,स्याङ्जा- स्याङ्जा स्थित आँधिखोला जलविद्युत् आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल अन्तर्गतका संरचनाहरुको परीक्षण सुरु भएको छ। करिब ८ दिनमा यस आयोजनाको परीक्षण पूरा भएपछि कुल ९ दशमलव ४ मेगावाट  विद्युत् राष्ट्रिय प्रसारणमा थप हुनेछ। यो सहित फागुन महिनामा राष्ट्रिय प्रसारणमा थप हुने विद्युत् ११ मेवा पुग्नेछ।

माघ महिनामा भारतबाट आयातित २०, मध्यमस्र्याङ्दीबाट ३६ र माई हाइड्रोबाट ६ गरी कुल ६२ मेवा विद्युत् राष्ट्रिय प्रसारणमा थपिएको थियो। यसले प्राधिकरणको तालिकाबाहिरको लोडसेडिङ अन्त्य गरेको थियो। अहिले थप भएको विद्ययुतले पनि केही समय लोडसेडिङ घटाउने प्राधिकरणको भनाई छ ।

आँधिखोला आयोजनाको निर्माण ठेक्का पाएको चाइनिज ठेकेदारका प्राविधिक तथा कर्मचारीहरु चिनियाँ नयाँ वर्ष मनाउन गएपछि आयोजनाको परीक्षण कार्य केही दिन पछि सरेको हो। ुनयाँ वर्ष मनाएर प्राविधिक तथा ठेकेदार कम्पनीका कर्मचारी शनिबार आएपछि आइतबारबाट काम शुरु भएको हो, आयोजनाका प्रमुख विष्णुबहादुर सिंहले भने, करीब १० दिनमा परीक्षण पूरा भइ परीक्षण उत्पादन शुरु गर्ने हाम्रो लक्ष्य छ।

आयोजनाको संरचना परीक्षण पूरा गरी परीक्षण उत्पादन शुरु गरेको १५ दिनसम्म आँधिखोलाले नेपाल विद्युत्त प्राधिकरणलाई निशुल्क विद्युत् दिनु पर्नेछ। त्यसपछि मात्रै प्राधिकरणको व्यावसायिक मिटरमा जोडेर आयोजनाले व्यवसायिक उत्पादन गर्नु पर्नेछ। आयोजना बगेको खोलामा आधारित (रन अफ दि रिभर) भएकोले परीक्षण पूरा भएपछि मात्रै कति मेगावाट उत्पादन हुन्छ भन्ने कुरा यकिन हुनेछ।