दक्षिण अफ्रिकाका कप्तान डिभिलियर्स बने उत्कृष्ट कप्तान

फागुन १८,काठमाडौँ-दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्सले २७ फेब्रुअरीमा सिड्नीमा वेस्ट इन्डिजविरुद्द भएको खेलमा अनेकौं रेकर्ड बनाए । सबैभन्दा छिटो १५० रन बनाउने रेकर्ड राख्दै उनले सबैभन्दा छिटो तीन हजार रन बनाउने कप्तान पनि उनी बन्न सफल भए ।

उनले तीन हजार रन ६० औं पारीमा पुरा गरेका हुन् । यो सँगै डिभिलियर्सले भारतीय कप्तान महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका हुन् । यसअघि सबैभन्दा चाँडो तीन हजार रन पूरा गर्ने कप्तानको रेकर्ड भारतका महेन्द्रसिंह धोनीको नाममा थियो । उनले ७० पारीमा तीन हजार रन पूरा गरेका थिए ।

ग्रिम स्मिथपछी डिभिलियर्सलार्इ दक्षिण अफ्रिकाका सफल कप्तान मानिन्छ । सन् २०१३ मा स्मिथले खेल जीवनबाट सन्यास लिइसकेका छन् । जारी विश्वकपमा डिभिलियर्सले वेस्ट इन्डिजविरुद्द ६६ बलमा १६२ रनको तुफानी पारी खेलेका थिए । सो पारीमा उनले ८ छक्का पनि हानेका थिए ।

यो खेलमा दक्षिण अफ्रिकाले ४०८ रन बनाएको थियो । जवाफमा उत्रेको वेस्ट इन्डिज १५१ रनमै अलआउट भयो । वेस्ट इन्डिजले डिभिलिर्यसको स्कोरलार्इ पनि भेट्न सकेन ।