​भारतमा बढेपनि नेपालमा इन्धनको भाउ नबढ्ने निगमको भनाई

फागुन १७, काठमाडौं- नेपाल आयल निगमले भारतमा पेट्रोल र डिजेलको मुल्य बढेपनि नेपालमा तत्काल मुल्य बृद्धि नहुने जनाएको छ । पछिल्लो समय निगम नाफामा रहेकाले त्यसको मार्जिन कटौती गरेर भएपनि बढेको मुल्यलाई थेग्न सकिने निगमको भनाई छ । स्वचालित मुल्य प्रणाली लागू भएसँगै आयल निगमलाई केही समययता नाफा रहेकाले भारतमा भएको मुल्य बृद्धिको असर तत्काल नेपालमा नपर्ने निगमका अधिकारीहरुले बताएका छन । निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले निगमले तेलको मुल्यमा राखेको मार्जिन केही घटाएर भएपनि साविकै मुल्यमा इन्धन बिक्रि गरिने बताउनुभयो ।

खड्काले आज नाफाको मार्जिन कटौतीवारे छलफल गरि निर्णय गरिने बताए । निगमले मुनाफाको रकम कोषमा सञ्चित गरिएकोले पनि तत्काल मुल्य बढाउने अवस्था नआउने बताइएको छ ।  स्रोतका अनुसार इन्धनको मुल्य बृद्धि गर्दा विपक्षी दलहरुबाट चर्को बिरोध हुने सक्ने आंकलनसहित भारतमा बढेपनि नेपालमा मुल्य बृद्धि नगर्ने निगमको तयारी छ । भारतीय आयल कर्पोरेसशनले गएराती १२ बजेदेखी लागू हुने गरि पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैया भन्दा बढी मुल्य गरेको छ ।