उपनिर्वाचनको चहलपहल सुरु, शीर्ष दलले गरे आ आफ्ना उमेदवार सिफारिस

फागुन १६,बागलुङ – बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचन आउन अब डेढ महिना बाँकी छँदै निर्वाचनको चहलपहल बढेसँगै शीर्ष दलले आ आफ्ना उमेदबार तय गर्ने क्रम सुरु भएको छ । निर्वाचनका लागि एमाओवादी र एमालेले सम्भावित उमेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाएका छन् भने कांग्रसले पनि उमेदवारको नाम छनोट गर्ने प्रक्रियामा लागेको छ । एमाओवादीबाट सम्भावित उमेदवारमा कृष्णबहादुर केसी, तिलक उप्रेति, यज्ञबहादुर शर्मा र गीता शर्मा नाम जिल्ला पार्टीले निर्णय गरी केन्द्रमा पठाएको छ ।

‘हामीले निर्णय गरी केन्द्रमा पठाएका छौं अब केन्द्रले नै टुंगो लगाएर पठाउँछ’एमाओवादीबाट उमेदवारमा सिफारिस भएका कृष्ण केसीले काठमाण्डु टुडेलाई भने, ‘हाम्रोमा अरुको जस्तो विवाद छैन, हामीले सर्वसम्मतले निर्णय गरेर पठाएका छौं, अब केन्द्रको निर्णय पर्खन्छौं । केन्द्रले जसको नाम सिफारिस गरे पनि स्वीकार गर्ने उनले बताए । केसी एमाओवादीका सम्भावित उमेदवार हुन् । उनले यस अघि पनि अञ्चल अस्पतालको अध्यक्षको रुपमा काम गरेका थिए । त्यस्तै एमालेबाट इन्द्रलाल सापकोटा, जनक पौडेल, मनकुमारी केसी, रामजीप्रसाद शर्मा र हिराबहादुर केसीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । सिफारिस गरिएकामध्ये हिराबहादुर केसी गत निर्वाचनमा काँग्रेस सभासद् स्वर्गीय हरिबहादुर खड्कासँग पराजित उम्मेदवार हुन । यसपालीको टिकट पनि केसीले नै पाउने पक्काजस्तो छ ।

काँग्रेस वृत्तमा स्व सभासद् खड्काकी पत्नी चम्पादेवी खड्का, छोरा सुदीप खड्का, पूर्व जिल्ला सभापति मणिभद्र शर्मा, कार्यवाहक जिल्ला सभापति जगदिशचन्द्र उपाध्याय उम्मेदवार हुने चर्चा छ । अघिल्लो चुनाव कांग्रेसले जिते पनि यसपटक भने यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
गत मङ्सिरमा सडक दुर्घटनामा परी सभासद् खड्काको निधन भएपछि रिक्त स्थानको लागि उपनिर्वाचन हुन लागेको हो ।