एमाओवादीलाई कसैले एक्लो बनाउन सक्दैन-प्रचण्ड

फागुन १४,   काठमाडौँ -एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको मर्म विपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वरत पक्षको साझा दस्तावेजका रुपमा रहेको शान्ति सम्झौतालाई पालन गर्ने वा नगर्ने भन्ने विषयमा प्रस्ट पार्न नेपाली काँग्रेस र नेकपा एमालेलाई आग्रह गरे । प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, शान्ति सम्झौताका आधारमा नै अन्तरिम संविधान निर्माण भएकाले त्यसलाई पूर्ण पालना गर्ने कि नगर्ने भन्ने प्रश्न नै यतिखेरको सङ्गीन प्रश्न रहेको उनको भनाइ थियो ।

संविधान लेखन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्नै नसक्ने उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानमा सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्नुपर्ने बताए । उनले  एकाध दलले मात्रै बनाउने संविधानले समग्र मुलुकको प्रतिनिधित्व गर्न सक्दैन, शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता र परिवर्तनकारी शक्तिलाई बाहिर राखेर बनाइने संविधानलाई सबैले मान्नुपर्ने जिकिर गरे ।

माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस मनाउँदै आएको छ । विसं २०५२ फागुन १४ गते तत्कालीन सरकारले गोरखामा १४ वर्षे बालक दिलबहादुर रम्तेलको हत्या गरेको दिन र इलामको सुखानीमा झापा आन्दोलनका पाँच योद्धाको बलिदान दिएको दिनलाई जोडेर एमाओवादीले बलिदान दिवस मनाउने गरेको छ ।