मुलुकभरका उच्च हिमाली जिल्लामा हिमपात, जनजीवन कष्टकर

फागुन १४ काठमाडौं -जुम्ला, मुस्तागं लगायतका उच्च हिमाली जिल्लाहरुमा हिजो बेलुकादेखि फेरि हिमपातसँगै पानी पर्न सुरु भएको छ । हिमपातसँगै फेरि बढेको चिसोका कारण जुम्लाको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । हिमपातका कारण कर्णालीमा हवाई यातायात पनि अवरुद्ध भएको छ ।

अत्याधिक चिसोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । पशुपंक्षी पनि चिसोका कारण प्रभावित भएका छन् । चिसोका कारण ५ वर्ष मुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकोले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरले सुझाव दिएका छन् । हिउँ परेपछि किसानहरु भने खुशी भएका छन् ।

यतिबेला परेको पानीसँगैको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिउँदको समयमा सिंचाइको अभाव हुने भएकोले जुम्लासहितका हिमाली जिल्लामा हिउँले सिंचाइको काम गर्ने बिज्ञहरुले बताएका छन् ।