चन्द नेतृत्वको माओवादीले गर्यो सिन्धुपाल्चोक जिल्ला बन्द

फागुन १३ , सिन्धुपाल्चोक नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले विभिन्न माग राखी आज सिन्धुपाल्चोक जिल्ला बन्द गरेको छ । जिल्ला बन्दमा राजधानीबाट आउने र जाने कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । बन्द भनिए पनि विद्यालय तथा जिल्लाका मुख्य मुख्य सहरका सबै पसल तथा कलकारखाना बिहानदेखि खुल्ला रहेका र कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपकराज खरेलले जानकारी दिए ।

नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा—माओवादी, राप्रपा र नेकपा–माओवादीले भोटेकोसी पावर कम्पनीसँग गरेको ६ बुँदे सहमति खारेजीको माग गर्दै विप्लव समूहको माओवादीले आज जिल्ला बन्द गरेको हो ।

पाँच दलले ६ प्रतिशत सेयरको माग गर्दै गत पुस ९ गते कम्पनीसँग सहमति गरेका थिए । उक्त सहमति जनघाती र जनविरोधी भएकाले खारेजीको माग गर्दै कम्पनीले दिइने सेयर दलहरुलाई नभई सर्वसाधारणलाई २० प्रतिशत सेयर दिनुपर्र्ने र प्रभावित क्षेत्रलाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्ने माग गर्दै जिल्ला बन्द गरेको जिल्ला सेक्रेटरी कमल माझीले जानकारी दिए ।