सरकारसँगै छैन स्वाइनफ्लू तथ्याङ्क

फागुन १३, काठमाडौँ – हालसम्म कतिजनामा ‘इन्फ्लुएन्जा ए’ एच वन एन वन अर्थात् स्वाइनफ्लु पोजिटिभ देखियो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म सार्वजनिक गरेको छैैन । स्वाइनफ्लूको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हुन्छ । “हामीकहाँ परीक्षण गर्न आएकामध्ये कति जनामा स्वाइनफ्लूको सङ्क्रमण देखियो भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ र सार्वजनिक गर्ने तयारीमा छौँ”–प्रयोगशालाका निर्देशक डा गीता शाक्यले भने ।

उनले स्वाइनफ्लू सिजनल फ्लू भएकाले नआत्तिन र तथ्याङ्कलाई जथाभावी रुपमा प्रस्तुत नगर्न आग्रह गरे । हालसम्म नमुना परीक्षणका लागि प्रयोगशालामा आएका दुई एवम् पोखरा, चितवनबाट परीक्षणका लागि आएका तीन गरी पाँचजनामा सो फ्लूको सङ्क्रमण भएको पुष्टि भएको निर्देशक शाक्यले जानकारी दिए । उनका अनुसार यो तथ्याङ्कपछि पनि सो फ्लू परीक्षणका लागि प्रयोगशालामा नमुना आइरहेका छन् ।

भारतमा स्वाइनफ्लूका कारण हालसम्म ८०० जनाको मृत्यु भइसकेको छ भने हजारौ सो फ्लूबाट सङ्क्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालबाट आवतजावत हुने भारतीय सीमा क्षेत्रका मुख्य नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको जनाएको छ । इबोला भाइरस भित्रिन नदिन अपनाइएको संयन्त्रलाई नै मन्त्रालयले स्वाइनफ्लू नियन्त्रणका लागि परिचालन गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेतीले भारतीय सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाउन सुरु गरिएको र अस्पतालमा छुट्टै कोठा, चिकित्सक एवम् औषधिको प्रबन्ध मिलाइएको जानकारी दिए ।

हालसम्म वीरगन्ज, महेन्द्रनगर, विराटनगर, झापाका सीमा क्षेत्रमा डेस्क स्थापना गरिएको छ । उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने तथा कहिलेकाहीँ पखालासमेत लाग्नेजस्ता स्वाइनफ्लुका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण गराउन मन्त्रालयले आग्रहसमेत गरेको छ ।