ओलीले भने ज्ञानेन्द्र मरेको सर्पको पुच्छर, एमाओवादी कानमा परेको कन्सुत्लो

फागुन १३, काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई मरेको सर्पको पुच्छरको संज्ञा दिएका छन् भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीलाई कानमा परेको कन्सुत्लोको संज्ञा दिएका छन् । युवा संघको प्रशिक्षण कार्यक्रममा सहभागी भएका ओलीले केही दिन अघि ज्ञानेन्द्रले विज्ञप्ति निकालेर दरबार छोड्ने समयमा राजनीतिक दलका बीचमा भएको सहमति कार्यान्वय हुनुपर्ने भन्ने विषयमा सार्वजनिक अभिव्यक्ति दिएको प्रति आपत्ति  जनाएका हुन् ।

ओलीले पूर्व राजा ज्ञानेन्द्रको वक्तव्य प्रति कटाक्ष गर्दे प्रशिक्षण कार्यक्रममा भने ‘सर्पले मरेपछि वा मर्ने पक्का भइसकेपछि पनि पुच्छर हल्लाउने गर्छ । अस्ती त्यही पुच्छर हल्लियो । सम्झौता कार्यान्वयन गर, धोकाभयो भनेर वक्तव्य दिएका छन् ।’

त्यसैगरी प्रचण्ड नेतृत्वको एमाओवादी कानको कन्सुत्लो भएको र अहिले औषधी हालेकाले छटपटाएको समेत टिप्पणी गरेका छन् । ओलीले एमाओवादीनेतृत्वको आन्दोलनलाई औषधीका कारण छटपटाएको कन्सुत्लोको संज्ञा दिएका हुन् ।