भागबन्डा नमिलेपछि संवैधानिक परिषद्को बैठक निश्कर्षबिना नै टुंगियो

फागुन १२,काठमाडौँ-  संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक निश्कर्षबिना नै सकिएको छ।
लोक सेवा आयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी नियुक्तिका लागि छलफल र सिफारिस गर्न संवैधानिक परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बिहान बोलाएको बैठक दलीय भागबन्डामा सहमति नभएपछि निर्णयबिना नै टुंगिएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी नेता एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) सहभागी थिए परिषद्मा प्रधानन्यायधीश, सभामुख र प्रधानमन्त्रीले तोकेका मन्त्रीहरु सदस्य रहने प्रावधान छ।

लोकसेवामा अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ। अख्तियारमा भने कानुनमा स्पष्ट संख्या नतोकिए पनि प्रचलनअनुसार प्रमुख आयुक्त र चार आयुक्त नियुक्त गर्ने चलन छ। लोकसेवा आयोग फागुन पदाधिकारीविहीन भएको छ। अख्तियारमा प्रमुख आयुक्त र एक आयुक्तको मात्रै नियुक्ति भएको छ। बाँकी तीन आयुक्त को पद खाली छ। निर्वाचन आयोगका आयुक्त रामभक्‍त पिबी ठाकूर उमेर हदका कारण अवकाश पाएकाले त्यहाँ पनि एक आयुक्त पद रिक्त छ।
लोकसेवामा पदाधिकारी नियुक्त नहुँदा निजामती प्रशासनमै गम्भीर असर पर्ने भएकाले प्रधानमन्त्रीले मंगलबार बैठक बोलाएका थिए। प्रचण्‍डले सोमबार प्रधानमन्त्री कोइरालासँग भेटेर संवैधानिक नियुक्‍तिबारे छलफल गरेका थिए। प्रचण्‍डले लोकसेवामा निमित्त अध्यक्ष रहेकी कयोदेवी यमीलाई अध्यक्ष बनाउने प्रस्ताव प्रधानमन्त्रीसँ‌ग राखिसकेका छन्। कांग्रेसले अध्यक्षमा पूर्वप्रशासक उमेश मैनालीको नाम अघि सारेको छ।
यसअघि बसेको संवैधानिक परिषद्‌को बैठक पनि निर्णयबिना नै टुंगिएको थियो।