उपयुक्त अवसरको खोजीमा देउवा

फागुन १२,काठमाडौं- कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो सबै जोड आगामी महाधिवेशनबाट सभाति बन्नेमा लगाएका छन् । पार्टी फुटाएदेखि जुटेपछिको आफ्नो संगठित शक्तिका आधारमा महाधिवेशनमै केन्द्रित हुने रणनीति उनको छ ।

महाधिवेशनका लागि छलफल गरेर रणनीति बनाउने देउवापक्षीय नेता प्रकाशशरण महतले बताए । ‘भदौमा महाधिवेशन गर्नुपर्ने अनिवार्य नै छ । हामी महाधिवेशनका लागि केही समयमा नै प्रस्ट दृष्टिकोण बनाउँछौं ’,महतले भने,‘देउवाजी हाम्रो उम्मेदवार हो ।’
केन्द्रीय सदस्यमा करिब ४० प्रतिशत,संसदीय दलको करिब ४६ प्रतिशत शक्ति ,धेरै जिल्लामा पकड रहेको तथा पछिल्लो समय कांग्रेसका सबै शुभेच्छुक र भातृ संस्थामा आफ्नो शक्ति बढेको विश्लेषणका आधारमा देउवा महाधिवेशनबाट सभापति हुनेमा विश्वस्त छन् ।
देउवाले मौन रणनीतिबाटै पार्टीमा आफ्नो उपस्थिति बढाएका छन् । उनले सरकार र संविधान निर्माणको विषयमा प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाप्रति खुलेर असन्तुष्टि र विरोध जनाएका छैनन् । संविधान निर्माणका विषयमा कोइरालालाई प्रक्रिया होइन,सहमतिमा जान दवाव दिइरहने तर,विवादित पाँच जिल्ला र अन्य एजेन्डामा कुनै सम्झौता गर्न नदिने पक्षमा देउवा छन् ।