स्वाइन फ्लु रोग नियन्त्रणका लागि समयमै उच्च सतर्कता अपनाउन निर्देश

फागुन १२,काठमाडौं- सरकारले मुलुकमा देखा परेको स्वाइन फ्लु रोग नियन्त्रणका लागि समयमै उच्च सतर्कता अपनाउन निर्देश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रोगबाट जोगिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र रोगको उपचारमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन समेत दिई सकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले स्वाइन फ्लु रोगबाट जोगिने उपाय सहित सञ्चार माध्यमबाट चेतनामूलक कार्यक्रम सञ्चालन गर्न, अन्तर्राष्ट्रिय विमानस्थल तथा तराई मधेसका नाकाहरुबाट नेपाल भित्रने नागरिकको परीक्षण गर्न र रोग भए नभएको जाँच गर्न विशेष सचेतना अपनाउन निर्देशन दिईएको छ ।
रोगको सङ्क्रमण भएका नजिकको सामुदायिक तथा निजी अस्पतालमा लैजान, सङ्क्रमित बिरामीको तथ्याङ्क अद्यावधिक गर्न, तालिम प्राप्त चिकित्सकको व्यवस्था गर्नसमेत निर्देश गरिएको छ ।
भरतमा ८ सय भन्दा बढीको ज्यान दिई सकेको यो रोग नेपालमा समेत पाँच जनामा देखा परि सकेको छ ।