मालदीभ्सका पूर्व राष्ट्रपतिको जमानत अस्वीकार

फागुन १२,काठमाडौं-मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई आतङ्कवादको अभियोगमा पक्राउ गरिएपछि एक अदालतले सोमबार जमानतमा रिहा गर्न तथा उनको वकिलसम्मको पहुँच अस्वीकार गरेको जानकारी उनको दलले दिएको छ । पूर्व राष्ट्रपति नसिदले आफूलाई हिँड्न दिन आग्रह गरेपनि प्रहरीले उनलाई बलपूर्वक घिसारेर अदालत लगेको थियो भने सुनुवाइपछि उनलाई अस्पताल लगियो ।

प्रतिपक्षी मालदिभियन डेमोक्र्याटिक पार्टीका प्रवक्ता सौना अमिनाथले अदालतले राष्ट्रपति नसिदलाई मुद्दाको सुनुवाइ नभएसम्म हिरासतमा राख्न आदेश दिएको जानकारी दिए  । शुक्रबार मालद्वीपमा विरोध प्रदर्शन आयोजना हुने भएको छ भने त्यसअगाडि राष्ट्रपति अब्दुल्लाह यामिनको सरकारविरुद्ध प्रतिपक्षीको क्रियाकलाप बढ्दो छ । यी क्रियाकलाप रोक्न नसिदमाथि आतङ्वादको अभियोग लगाइएको आरोप एमडीपीले लगाएको छ ।

नसिदका कानुनी सल्लाहकार हिसान हुसेनले यो पक्राउ तथा हिरासतमा राख्ने कार्य पूर्णतया स्वेच्छाचारी भएको बताए । उनले अदालत, प्रहरी तथा राष्ट्रपति यामिनको प्रशासनका कार्य निन्दनीय भएको बताए । सन् २०१३ मा नसिदले भारतीय उच्चायोगमा शरण लिएकाले उहाँको जमानत स्वीकार नगर्न सरकारी वकिलहरूले अदालतलाई दबाब दिएका थिए ।