जोरखाने टोली आज ताजकिस्तान प्रस्थान गर्दै

काठमाडौं, फागुन ११ -अन्तराष्ट्रिय जोरखाने स्पोर्ट्स वल्र्ड कपमा सहभागी हुन नेपाली टोली सोमबार ताजकिस्तानको दुसान्वे प्रस्थान गर्ने भएको छ । फेब्रुअरी २३ देखि २८ तारिखसम्म हुने छैटौं जोरखाने स्पोर्ट्स वल्र्ड कपमा ६ पुरुष खेलाडी अरुणप्रसाद सापकोटा, कमल श्रेष्ठ, अनुज श्रेष्ठ, सुमिरकुमार शाह, राजन सिलवाल, सूर्य बुढाथोकी तथा रविन घिमिरेले प्रतिस्पर्धा गर्नेछन् । रविन घिमिरेले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । रविन भने ताजकिस्तान गइसकेका छन् । वल्र्ड कपकै दौरान हुने महासंघको छैटौं महाधिवेशनमा नेपाल जोरखाने स्पोर्ट्स एसोसिएसनका अध्यक्ष कर्णबहादुर शाहीले भाग लिने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र सदस्य मनबहादुर न्यौपानेले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।