ग्रीसको आर्थिक संकट अन्त्यका लागि सहयोग बिस्तार गर्न युरोजोन सहमत

फागुन ९,काठमाडौँ- ग्रीसको आर्थिक संकट अन्त्यका लागि आर्थिक सहयोग विस्तार गर्न युरोजोन सहमत भएको छ । युरोजोनका अर्थमन्त्रीको बैठकले ग्रीसको आर्थिक संकट अन्त्यका लागि थप ४ महिना समय थप गर्ने निर्णय गरेको हो । यसअघिको सम्झौताको समयसिमा सकिएकै दिन यूरो जोनले ग्रीसलाई थप मौका दिएको हो ।

ब्रसेल्समा गएराति सम्पन्न अर्थमन्त्रीको बैठकले ग्रीसको आग्रहलाई स्विकार गर्दै थप ४ महिना सहयोग विस्तार गर्ने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ ।बैठकपछि नेदरल्याण्ड्सका अर्थमन्त्री जेरोन डिजसेलब्लोमले ग्रीसले पाएको थप ४ महिना संकट अन्त्यकालागि महत्वपूर्ण कदमका साथै विश्वासको पुर्न निर्माण बलियो भएको प्रतिक्रिया दिनुभयो ।ग्रीसका अर्थमन्त्री यानिस भरोउफाकिसले आफुहरुले पाएको ४ महिने समयसिमाले यूरोप र अन्र्तराष्ट्रिय मुद्राकोषसंगको सम्बन्धलाई थप बलियो बनाउने भन्दै मौकाको सदुपयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।