गायक मालीको निधन

काठमाडौँ – गायक तथा ब्यबसायी हिक्मतबहादुर मालीको निधन भएको छ । मालीको आज बिहान करिब ४ बजे ओम अस्पताल चाबहिलमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । माली आयल स्टोर कालिमाटीका मालिक समेत रहेका ६१ वर्षीय माली दायाँ हातको पाखुरा र फोक्सोको अर्बुद रोगसँग केही समयअघिदेखि जुधिरहेका थिए । गायक मालीको शुक्रबार नै टेकुस्थित पचली घाटमा दाहसंस्कार गरिएको छ ।

उनको पार्थिव शरीरमा उनका जेठा छोरा कवीन्द्रले दागबत्ती दिएका थिए । स्व मालीका तीन छोरा,एक छोरी र श्रीमती छन् । गायक मालीले गाएको कुन देशको चरी हौ, बोलको गीत डा।कृष्णहरि बरालले लेखेका थिए भने संगीत राम थापाले दिएका थिए, सो गीत आफ्नो समयमा निकै चर्चामा रहेको थियो । माली पेट्रोलियम डिलर्स एसोसिएसन, नीलबाराही उमावि, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र नेपाल इटली चेम्बर अफ कमर्समा अध्यक्ष तथा नेपाल कुबेत चेम्बर अफ कमर्सका उपाध्यक्ष, रोटरी क्लब इन्टरनेसनलका चार्टर प्रिसिडेन्ट, चेम्बर अफ कमर्सका कोषाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य, ज्ञानोदय उमावि सञ्चालक समिति सदस्य र परोपकार संस्थाका सञ्चालक समिति सदस्यसमेत भएका थिए ।