विविधतामा नै नेपालको राष्ट्रिय शक्ति : प्रम कोइराला

फागुन ८, काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले जातीय, भाषिक र धार्मिक विविधतामा अनुपम एकता नै नेपालको राष्ट्रिय शक्ति भएको बतएका छन् । विश्व शान्ति महासङ्घ नेपालले शुक्रवार आयोजना गरेको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा प्रधानमन्त्री कोइरालाले आफूहरु राष्ट्रिय एकता र विश्व प्रचलित प्रजातान्त्रिक मूल्य मान्यताअनुरुप अधिकतम् लचक भएर समावेशी प्रजातन्त्रलाई संस्थागत गर्न अग्रसर रहेको अवगत गराए । उनले गौतम बुद्ध र महात्मा गान्धिले देखाएको शान्ति र अहिंसाको बाटोबाटै शान्ति, स्थायित्व र विकासको लक्ष्य प्राप्त गर्ने समावेशी प्रजातन्त्र प्राप्त गर्न सकिनेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले प्रजातन्त्र नै जीवनको बाटो भएको बताए ।

प्रधानमन्त्री कोइरालाले नेपालले विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सद्भाव कायम राख्दै आएको बताउँदै एसियामार्फत विश्वमा इज्जत र सम्मानसहितको शान्ति र एकता फैलाउने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे । कार्यक्रममा सहभागी पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बन्नु अपरिहार्य रहकामा जोड दिँदै नेपाली जनता शान्तिको खोजीमा रहेको बताए । नेता नेपालले प्रजातन्त्रको लडाइँमा मुलुकको लामो इतिहास रहेको अवगत गराउँदै सहमति र छलफलका लागि दलबीच संवाद नै वर्तमान आवश्यकता भएको बताए । कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी प्रजातन्त्रले मात्रै सबै जनताका सबै मानवाधिकारको प्रत्याभूति गर्ने बताए । भारतको उत्तराखण्ड प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकसभा सदस्य भगतसिंह कोस्यारीले विश्वमा अतिवाद र आतङ्कवादका कारण निर्दोष जनताको हत्या भइरहेको अवगत गराउँदै शान्तिबिना प्रजातन्त्र सम्भव नहुने बताए ।