राना समुदायकी युवतीलाई बलात्कार गरेको आरोपमा ६ जना थारु युवा विरुद्ध मुद्धा दायर

फागुन ८, कञ्चनपुर – कञ्चनपुरमा ६ दिन अघि भएको सामुहिक बलात्कारको केसमा प्रहरीले ६ जना युवा विरुद्ध मुद्धा दायर गरेको छ । पुनर्वास नगरपालिका–५ उध्रीमा स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोलीका छजनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा मुख्य दोषी देखिएका गोविन्द रानासहित छजनालाई मुद्दा दायरपश्चात् थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।

विवाहमा स्थानीय २० वर्षीया राना समुदायकी युवतीलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका पनि सबै राना थारू समुदायकै हुन् । पीडित महिलाले आफूलाई एकजनाले जबर्जस्ती उखुबारीमा लगेर बलात्कार गरेको प्रारम्भिक बयान दिएकी थिइन् । तर प्रहरीले बाजा बजाउने टोलीका तीन सदस्यबाहेक अन्य कुनै न कुनै रुपमा दोषी देखिएकाले मुद्दा दायर गरिएको जनाएको छ ।