६५ औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मुलुकभर मनाइदै

फागुन ७, काठमाडौँ-आज ६५ औं प्रजातन्त्र दिवस देशभरमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको संझनामा आज प्रजातन्त्र दिवस मनाउने गरिएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नुभएको थियो । वि।सं। २०४६ तथा ०६२÷०६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ ।

प्रजातन्त्र दिवसको अवसरमा दिवस मुल समारोह समितिले सूचना नै जारी गर्दै ६५औं प्रजातन्त्र दिवस मूल समारोह समितिले गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । समितिले अहिले बिहान काठमाण्डुको शहीदगेटमा जम्मा भई खिचापोखरी, जुद्ध शमशेरको शालिक, असन, भोटाहिटी, रत्नपार्क विद्युत प्राधिकरणको गेट हुँदै नैपाली सैनिक मंचमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । शहीदगेटमा रहेको शहीदहरुको तस्वीर प्रधानमन्त्रीले माल्यार्पण पनि गर्दैहुनुहुन्छ । जिल्ला जिल्लामा पनि सदरमुकामलगायत विभिन्न ठाउँमा आयोजना गरिने प्रजातन्त्र दिवसका अवसरमा हुने कार्यक्रमहरुमा सहभागी हुन पनि समितिले आग्रह गरेको छ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दल, तथा पूर्व राजाले समेत शुभकामना दिएका छन् । आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति डा। रामवरण यादवले माघ ८ मा संविधान जारी गर्ने महत्वपूर्ण क्षण गए पनि अब संविधान निर्माणको काममा अलमल नगर्न सुझाव दिनुभएको छ । त्यस्तै प्रधानमन्त्री सुशिल कोइरालाले पनि हिजै शुभकामना सन्देश जारी गर्दै २००७ सालको क्रान्तिले ल्याएको उपलब्धि रक्षा गर्न जनमुखी संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।  प्रजातन्त्र दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।