दलहरुसँग केही कुरामा सहमति भएको ज्ञानेन्द्रको खुलासा

फागुन ६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र आफूबीच गोप्य समझदारी भएको खुलासा गरेका छन् । ६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले तत्कालीन राजनीतिक दल र आफूबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित केही सहमति तथा समझदारी भएको दाबी गरेका हुन् । ‘तत्कालिन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तीनको स्मरण अनुसरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता छ’, सन्देशमा उनले भनेका छन् ।

यद्यपि उनले त्यस्तो केही सहमति भएको थियो भन्ने स्पष्ट खुलाएका छैनन् । ज्ञानेन्द्रले छिट्टै संविधान आएर मुलुकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् भन्ने कामनासमेत गरेका छन् । प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी प्रयासमा नेपालमा ६४ वर्षअघि प्रजातन्त्र स्थापना भएको स्मरण उनले गरेका छन् । ज्ञानेन्द्रले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमा समय बिताउनुको साटो राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडि बढ्न दलहरुलाई आग्रह गरेका छन् । प्रजातन्त्र राष्ट्रको अलंकार र जनताको भाग्य भविष्यको आधार रहेको भन्दै उनले राज्य सञ्चालन विधि र व्यवस्थापनका निम्ति चाहिने मुख्य विषय आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न भएको उल्लेख गरेका छन् ।