नहट्ने भयो त्रिभुवनको सालिक

फागुन ७, काठमाडौँ-सर्वोच्च अदालतले सहिदगेटबाट पूर्वराजा त्रिभुवनको सालिक हटाउने सरकारी निर्णय मंगलबार खारेज गरेको छ।
सर्वोच्चका न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले प्रजातन्त्र दिवसको अघिल्लो दिन उक्त निर्णय गरेको हो।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ साल पुस १८ गते त्रिभुवनको सालिक सहिदगेटबाट हटाएर नारायणहिटी दरबार संग्रहालयमा राख्ने निर्णय गरेको थियो।
त्रिभुवनको सालिक हटाउने निर्णय बदर गर्न माग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालय, नारायणहिटी दरबार संग्रहालय र गृह मन्त्रालयविरुद्ध अधिवक्ता कमलेश द्विवेदीले रिट निवेदन दायर गरेका थिए।
त्रिभुवनको सालिक सांस्कृतिक सभ्यता बोकेको ऐतिहासिक स्मारक भएकाले सहिदगेटबाट हटाउन नमिल्ने दाबी द्विवेदीको थियो। उक्त रिटमा सहिदको व्याख्या गर्नसमेत माग गरिएको छ।   अन्नपुर्ण पोष्टमा खबर छ ।