कांग्रेस तेह्रौं महाधिवेशन भदौ पहिलो साता

फागुन ६, काठमाडौं-नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्न प्रस्ताव गरिएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेको हो। कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पदाधिकारी बैठकले प्रस्ताव गरेको मिति बुधबार बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि महाधिवेशनको मिति टुंगो लाग्ने जानकारी दिए।
‘भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा १३ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छौं,’ बडूले नागरिकसँग भने, ‘यो मिति केन्द्रीय समितिको बैठकले हेरफेर पनि गर्न सक्छ।’ कांग्रेसले केन्द्रीय समिति बैठक बुधबार पार्टी कार्यालय, सानेपामा बोलाएको छ।

संविधान निर्माणका लागि दलीय छलफलमा शीर्ष नेताहरू सक्रिय भएकाले महाधिवेशन अन्योलमा परेको भन्ने कुरा आइरहेका बेला पदाधिकारी बैठकले महाधिवेशनको मिति प्रस्ताव गरेको हो। कांग्रेस विधानअनुसार थपिएको एकवर्षे कार्यकाल पनि पाँच महिना बित्न लागेको छ। विधानबमोजिम आगामी असोज ५ गतेभित्र १३ औं महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यात्मक अवस्था आएपछि मिति घोषणा गर्न पार्टीभित्रैबाट शीर्ष नेतृत्वलाई दबाब आएको थियो। कांग्रेसले त्यसअघि क्रियाशील सदस्यतासम्बन्धी विवाद, वडा, गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन गरिसक्नेछ।

कांग्रेसले क्रियाशील सदस्यता टुंगो लगाएर पठाउन पटक–पटक समय तोके पनि विवादका कारण ९ जिल्लाबाहेक कुनै पनि जिल्लाबाट क्रियाशील सदस्यको नामावली केन्द्रमा आएको छैन। कांग्रेसले पछिल्लोपटक पुस मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर पठाउने समय तोकेको थियो।
‘अब फागुन मसान्तसम्म सबै जिल्लालाई क्रियाशील सदस्यको नामावली पठाउन भनेका छौं। त्यो समयभित्र नपठाउने जिल्लाले १३ औं महाधिवेशनमा भाग लिन पाउने छैनन्,’ बडूले भने।

नवीकरण र नयाँ सदस्यको टुंगो लगाएर फागुन मसान्तभित्र पठाउनुपर्ने उनको भनाइ थियो। कतिपय जिल्लामा कांग्रेसमै रहेर काम गर्नेले पनि सदस्यता नपाउने, कुनै जिल्लामा कांग्रेस बाहेक अन्य पार्टीकाले पनि क्रियाशील सदस्यता पाएको भन्ने विवाद केन्द्रमा आएकाले त्यसका लागि ३ सदस्यीय छानबिन समिति बनाउने निर्णय पनि पदाधिकारी बैठकले गरेको खबर नागरिक दैनिकले छापेको छ । उक्त समितिले चैत मसान्तसम्म सदस्यता विवाद टुंगो लगाउनेछ।