महाशिवरात्रिको सवारी मार्गचित्र , पाशपत क्षेत्रका २० सडकमा गाडी बन्द हुने

फागुन ५ ,काठमाडौँ – महाशिवरात्रिको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको चापलाई दृष्टिगत गरेर विशेष सवारी व्यवस्थापनको मार्गचित्र सार्वजनिक गरेको छ । शिवरात्रिलाई ध्यानमा राखेर महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशालातर्फ सवारी प्रवेशलाई निषेध गरिएको छ।
त्यस्तै, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामपोखरीबाट कुटुवहाल हुँदै मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड हुँदै मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ जाने सडकमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ ।

शिवरात्रिमा दर्शनार्थीले सहज रुपमा त्यस क्षेत्रमा प्रवेश पाउन् भनेर सवारी व्यवस्थापनका लागि वरिष्ठ प्रहरी उपरीक्षको नेतृत्वमा महाशाखाले ३०० प्रहरी खटाउने भएको छ। मालबाहक सवारी साधन तीनकुनेबाट सिनामङ्ल, जोरपाटीबाट नारायणटार, नयाँबानेश्वरबाट सिनामङ्गल चल्न रोक लगाइएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखेर महाशाखाले दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकवाहक सवारी साधनका लागि तिलगङ्गामा पार्किङको व्यवस्था गरेको छ । पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई गौशाला प्रहरी प्रभागमा पार्किङको व्यवस्थापन गरिएको छ ।

पासवाला सवारी साधन, भारतीय दर्शनार्थीका सवारी साधनलाई अमालकोटमा व्यवस्थापन गरिनेछ । महाशाखाले पार्किङका लागि तोकिएका क्षेत्रमा एकैचोटी चार सयको हाराहारीमा सवारी साधान अट्ने बुझिएको छ । शिवरात्रिका अवसरमा भारतबाट मात्र १०० को हाराहारीमा ठूला यात्रुवाहक बस भोलि बिहानसम्ममा उपत्यका भित्रिने अनुमान गरिएको छ । सवारी साधन व्यवस्थापनका लागि महाशाखाले आज राति ३ बजेबाट जनशक्ति परिचालन गर्ने बताएको छ ।

पशुपति विकास क्षेत्र कोषले यसपटक क, ख र ग गरी प्याजी, हरियो र निलो पासको व्यवस्था गरको छ । कोषले वितरण गरेको पासका आधारमा महाशाखाले कुन सवारी साधानलाई कहाँसम्म पहुँच दिने भन्ने व्यवस्था मिलाएको छ । महाशाखाले सवारी साधनको व्यवस्थापनका लागि ३९ स्थानमा चेकजाँच तथा २० स्थानबाट पशुपति क्षेत्रमा प्रवेश निषेध गरको छ । त्यस्तै ५६ स्थानमा यातायात प्रवेशका लागि छेकबार खडा गर्ने महाशाखाले जनाएको छ ।

गाडी पार्किङ कसले कहाँ गर्ने हेर्नुहोस्

तीलगंगा – तीर्थयात्री, दर्शनार्थी र पर्टकहरुको गाडी देवउद्याथ र अमालकोटमा रहेको कोषको कार्यालय
– पास लिएका बाहनहरु महानगरीय प्रहरी वृत्त गौशालामा – पास लिएका र सरकारी गाडीहरु सिफलमा
– सशुल्क टिकट बाहक पास लिएका सवारी साधन र स्थानीय दर्शनार्थीले गुहेश्वरी पारी – गोठाटार जोरपाटी, मूलपानी, गोकर्ण, वौद्ध तर्फबाट आउने तीर्थयात्रीहरु