बहुमूल्य समय दलहरुले विना उपलब्धी खेर फाले – अध्यक्ष नेम्वाङ

फागुन ४,काठमाडौं – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक स्थगनपछिको चार दिनको बहुमूल्य समय दलहरुले विना उपलब्धी खेर फालेको बताउनुभएको छ । आज आफ्नै कार्यकक्षमा अन्तर्राष्ट्रिय हिन्दी परिषद् नेपालको ज्ञापनपत्र बुझ्ने क्रममा गतिरोध अन्त्यका लागि औपचारिक छलफलमा नजुटेर दलहरुले समय खेर फाल्नु निकै दुःखद भएको उहाँले बताउनुभयो ।

नेम्वाङले दलहरुबीच अनौपचारिक तवरमा छलफल भएपनि औपचारिक वार्ता नहुँदा परिणाम नदेखिएको भन्दै संविधानसभा बैठक स्थगन गरिएपछिको समयको सदुपयोग गर्नेतर्फ सत्तारुढ र विपक्षी दल तथा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
सभाध्यक्ष नेम्वाङले एमाओवादी लगायतका विपक्षी दलहरुले संविधानका विवादित विषयमा सहमतिमा जोड दिएका कारण आफूले संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको भन्दै सहमतिका लागि विपक्षी दलहरु वार्तामा आउनुपर्ने बताउनुभयो । सभाध्यक्ष नेम्वाङले दलहरुबीचको सहमति संविधानसभाको पहिलो प्राथमिकता भएपनि सहमति नभएको अवस्थामा दुई तिहाइ वहुमतको प्रक्रिया अगाडि बढाउनुको विकल्प नहुने समेत बताउनुभयो ।