अपर तामाकोसी हाइड्रोपावरको शेयर आव्हान प्रक्रिया दलहरुद्धारा अस्वीकार

फागुन ४, दोलखा- बिना सहमती माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले शेयर आव्हान गरेको भन्दै जिल्लास्थित राजनीतिक दलहरुले अस्विकार गरेपछि अन्योल उत्पन्न भएको छ ।

राजनीतिक दलहरु आबद्ध आयोजना समन्वय तथा सहयोग समितिले निर्णय नगरी शेयर आव्हान गरिएको भन्दै दलहरुले त्यसलाई अस्विकार गरेका हुन् । सबै दोलखालीले शेयर पाउने सुनिश्चित नभई शेयर आव्हान भएकोमा दलहरुले त्यसलाई सच्याउन माग गरेका छन् ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणका लागि दोलखाबासीले लगानी गर्न पाउने १० प्रतिशत शेयर प्रतिव्यक्ति न्युनतम ५० कित्ता र बढीमा ७० कित्ता शेयर खरिदका लागि आव्हान भएको छ ।
अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले तीन करोड ६० लाख ६ हजार कित्ता शेयर मध्ये दोलखाबासीका लागि एक करोड ५९ लाख कित्ता शेयर निष्काशन गरेको छ । सबै गाविसमा संकलन केन्द्र राखी आवेदन संकलन गर्नुपर्ने नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको भनाइ छ ।
शेयर लगानीका लागि रकम नहुने दोलखालीका लागि सहज वातावरण तयार गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने पोखरेलले बताउनु भयो । समितिका संयोजक तथा दोलखाका स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले शेयर आव्हानका बारेमा थप छलफल गर्न आज समितिको बैठक बस्ने जानकारी दिनुभयो ।