इस्लामिक स्टेटद्वारा २१ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या

फागुन ४,लिबिया– इस्लामिक स्टेट चरमपन्थी समूहले इजिप्टबाट अपहरण गरेका २१ इसाइको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ।

इस्लामिक स्टेटले उनीहरुलाई लिबियाबाट अपहरण गरेको जनाएको छ। इस्लामिक स्टेटसँग सम्बन्धित लिबियाका जेहादीहरुले यो भिडियो इन्टरनेटमा सार्वजनिक गरेका हुन् ।
यसअघि गत हप्ता इजिप्तका राष्ट्रपतिले लिबियाबाट इजिप्टका सबै नागरिकलाई बाहिर निकाल्ने प्रस्ताव गरेका थिए । अपहरणमा परेका सबै इजिप्टका काप्टिक इशाई रहेको बताइएको छ ।उनीहरुलाई पूर्वी लिबियाको तटीय सहर सिर्तेबाट अपहरण गरिएको थियो। उक्त क्षेत्र इस्लामिक स्टेटको कब्जामा छ।
शुक्रबार जारी गरिएको तस्वीरमा इस्लामिक स्टेटले इसाईलाई इजिप्टको काप्टिक गिरिजाघरमा मुसलमान महिलालाई यतना दिएको र उनीहरुको हत्या गरेको बदला लिन हत्या गरेको बताएको छ।
इजिप्ट सरकारले आफ्ना नागरिकहरुलाई लिबिया नजान चेतावनी दिएको छ। तर, अहिले पनि मानिसहरु कामको खोजीमा लिबिया गइरहेका छन् । यसअघि इस्लामिक स्टेटको अपहरणमा परेकाहरुको जीवन रक्षाको माग गरिएको थियो । एक तथ्याङ्कअनुसार इजिप्टको कुल जनसंख्या करिब ९ करोड छ । त्यसमध्ये त्यहाँ करिब डेढ करोड काप्टिक इसाई छन् । एजेन्सी