आफन्तलाई पत्तै नदिई इटहरी प्रहरीले शवदाह गरेपछि…

फागुन ४,काठमाडौं – बसको ठक्करले मृत्यु भएका एक युवकको शव प्रहरीले आफन्तलाई जानकारी नै नदिई जलाएको खुलेको छ। इटहरी प्रहरीले रिक्सामा हिडिरहेको बेला यात्रुबाहक बसको ठक्करबाट मारिएका ओखलढुंगा, वरुणेश्वरका भीमबहादुर कार्कीको शब जलाएको हो।

माघ १६ गते बेलुका २०७४ नम्बरको रिक्सामा इटहरी चोकतर्फ आउँदै गरेका भीमबहादुरलाई विराटनगरबाट धरानतर्फ आउँदै गरेको मे १ ख १५३६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो। उनी दैनिक सय रुपैयाँ भाडा तिरेर स्थानीय ओमप्रकाश रायको रिक्सा चलाउँथे।
बसको ठक्करबाट घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारकोक्रममा मृत्यु भएको थियो। प्रहरीले आफन्त नै नखोजी ४ दिनपछि आफैंले शब जलाएको हो। प्रचलित कानुन अनुसार कुनै मृतकको परिचय नखुले ३५ दिनसम्म शब सुरक्षित राख्ने र सो अवधीमा समेत फेला नपरे जिल्ला प्रशासन कार्यालयको अनुमतीमा प्रहरीले स्थानीय प्रशासनको रोहबरमा शब जलाउन सक्ने प्रावधान छ।
तर, इटहरी प्रहरीले आफन्त नै नखोजी घटनाको ४ दिनभित्रै हतारमा शब जलाएको थियो । मृतकका दाजु चक्र कार्कीका अनुसार प्रहरीले शब जलाएपछि मात्रै परिवारलाई जानकारी गराएको थियो। कार्कीका अनुसार बसले ठक्कर दिँदा घाइते भएका भिमलाई पुन फर्किएर किचेर मारेको प्रत्यक्षदर्शीले बताएको जानकारीदिँदै बस व्यवसायीसँग मिलेर प्रहरीले शब जलाएको दावी गरे।