महाशिवरात्रीमा पशुपतिमा आधा घण्टाभित्रै दर्शन गर्ने ब्यबस्था

फागुन ४,काठमाडौं – मङ्गलबार मनाइने महाशिवरात्री पर्वको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी, तीर्थयात्री, पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक ठाउँमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषका सदस्य–सचिव गोविन्द टण्डनले विगतका अनुभवबाट यस वर्ष भक्तजनलाई विशेष सुविधासहित दर्शनको व्यवस्था मिलाइएको र अनुगमनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
दर्शनको लागि वागमती नदीको पश्चिम करिडर प्रयोग गरी तिलगङ्गा–पिङ्गलास्थान हुँदै वनकाली–चारशिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी वनकाली धर्मशालालाई बायाँ पारेर चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था गरिएको छ । कोषले लाइनमा उभिएको आधाघण्टाभित्रै दर्शन गर्न सकिने गरी आवश्यक व्यवस्था मिलाइएको दावी पनि गरेको छ ।
अघिल्ला वर्षहरु जस्तै यसपटक पनि एक हजार रुपैंया तिरी सःशुल्क दर्शनको व्यवस्था गरिएको छ । आवास, भोजन तथा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको कोषले जनाएको छ । यसबीच शिवरात्रीको लागि पशुपतिमा साधुहरुको चहलपहल सुरु भएको छ । कोषले साधुसन्तबाहेक अरुलाई गाँजा खरिदबिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ ।