भारतद्वारा पाकिस्तान ७६ रनले पराजित

फागुन ३,काठमाडौँ – विश्वकप क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ । दोस्रो दिनको दोस्रो खेलमा पाकिस्तान भारतसँग ७६ रनले पराजित भएको हो । अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभरमा २ सय २४ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका मिसबाह उलहकले ७६, अहमद शाहजादले ४७, हारिस सोहिलले ३६, शाहिद अफ्रिदीले २२ र यासिर शाहले १३ रन जोड्नु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

भारतका मोहम्मद सामीले ४, उमेश यादवले २, मोहित शर्मा, रविचन्द्र आश्विन र रविन्द्र जडेजाले समान १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले बिराट कोहलीको शतकको मदतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०० रन बनाएको थियो ।

कोहलीले दोस्रो विकेटका लागि शिखर धवनसँग १२९ रनको साझेदारी गर भने तेस्रो विकेटका लागि सुरेश रैनासँग ११० रनको साझेदारी गरे । १२६ बलको सामना गरेका उनले आठ चौकाको मदतमा कोहलीले १०७ रन बनाए । रैना ७४ र धवन ७३ रनमा आउट भए । भारतका अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । कप्तान महेन्द्रसिंह धोनी १८ रनमा आउट भए भने रोहित शर्माले १५ रन बनाए ।पाकिस्तानका सोहिल खानले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५५ रन दिए ।

बिराटले मास्टर ब्लास्टर सचिन तेन्दुलले विश्वकपमा पाकिस्तान विरुद्ध बनाएको सर्वाधिक रनको रेकर्ड पनि तोडेका छन् । सचिनले सन् २००३ मा भएको विश्वकपमा पाकिस्तान विरुद्द ९८ रन बनाएका थिए ।