सभासद ल्यारक्याल लामाले आज सपथ लिने

फागुन ३,काठमाडौं- एकीकृत माओवादीको तर्फबाट सभासद बनेका ल्यारक्याल लामाले आज पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ ।मध्यान्ह १२ बजेपछि सिंहदरवारमा एक कार्यक्रमकाबीच लामालाई संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सपथ गराउने तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ । सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एकीकृत माओवादीले लामालाई सिफारिस गरेको थियो ।

एमाओवादीको सिफारिस अनुसार लामालाई १ हप्ताअघि निर्वाचन आयोगले मनोनित गरेको थियो । विवादास्पद छविका लामालाई सभासद बनाएको भन्दै एकीकृत माओवादीकै शीर्ष नेताहरुले आलोचना गर्दै आएका छन् ।
लामा दोस्रो संविधानसभाको निर्वाचनको केही दिनअघि मात्र एमाओवादीमा प्रवेश गर्नु भएको थियो । पहिलो संविधानसभा निर्वाचन अघि एमालेको समानुपातिक सभासद बनेका लामा झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला अर्थ राज्यमन्त्री बन्नु भए पनि नागरिकतासम्बन्धी विवाद सञ्चार माध्यममा आएपछि राजीनामा दिनु भएको थियो ।