मिस नेवाको प्रतिस्पर्धामा १९ युवती

पोखरा- नेवा खलः कास्कीले पाँचौ पटक पोखरामा आयोजना गर्न लागेको मिस नेवाः पोखरा ११३५ का लागि १९ जना नेवारी समुदायका युवतीले प्रतिस्पर्धा गर्ने भएको छ । बिहिबार पोखरामा आयोजित मिस नेवा पोखराको परिचयात्मक कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक बिक्रम उदासले पोखरा र यस आसपासका १९ जना प्रतिस्पर्धीले मिस नेवामा प्रतिस्पर्धा गर्ने जनाएका हुन् ।

प्रतिस्पर्धीहरुमा लमजुङ्ग पिप्लेका सुस्मा श्रेष्ठ, पोखरा तेर्सापट्टीका कृपा कतिला, पुष्पा श्रेष्ठ, मालेपाटन, मन्जु ताम्राकार नदिपुर, श्रीया श्रेष्ठ बगालेटोल, रिक्का श्रेष्ठ न्युरोड, सुस्मिता प्रधान नदिपुर, स्वस्तिका श्रेष्ठ नदिपुर, कञ्चन श्रेष्ठ तनहुँ दुलेगौंडा, निलिमा श्रेष्ठ लामाचौर, आशा श्रेष्ठ खाल्टेमसिना, सारा बजिमय भिमसेनटोल, सगुन जोशी पृथ्बीचोक, श्रीया बुद्धाचार्य मोहोरिया टोल, सुलोचना शाक्य अर्चलबोट, रक्षा बाटाजु नयाबजार, बिभुषा नकर्मी औद्योगिक क्षेत्र, प्रिंयका जोजिजु फुलबारी र संगीता श्रेष्ठ लामाचौर रहेका छन् ।

कार्यक्रममा बोल्दै नेवा खल कास्कीका महासचिब प्रदिप रञ्जितले नेवारी मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवा समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सो अवसरमा कार्यक्रमका सल्लाहकार इश्वर कर्माचार्यले ब्यक्तित्व र नेतृत्वका तालिम तथा नेवारी संस्कृति, भाषा तथा मुल पहिचानको जानकारी गराउदै बासुरी बादनको तालिम का साथै सांस्कृतिक अवलोकन भ्रमणका रुपमा बनेपा र पनौती लगिने जानकारी दिनुभयो ।

नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले यस्ता कार्यक्रमले एउटा युवतीलाई परिपक्व बनाई घरमा छोरीबाट पनि संस्कार र संस्कृति सिक्न सिकाउन मद्धत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा सहसंयोजक सुबिन्द्र श्रेष्ठ, निरन्जन श्रेष्ठ, मिस नेवा ११३४ रुची श्रेष्ठ, अभिभावकको तर्पmबाट गंगा बुद्धाचार्य लगायतले बोलेका थिए ।

विभिन्न चरण पार गर्दै आउदो चैत्र ७ गते पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । मिस नेवाः पोखरा ११३५ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । यसरी नै बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइतलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ ।