साना तथा घरेलु उद्योगमा रु एक अर्ब ६० करोड लगानी

फागुन २, म्याग्दी चालु आर्थिक वर्षको माघ मसान्तसम्म म्याग्दीमा सञ्चालन भइरहेको ७२७ वटा साना तथा घरेलु उद्योगमा रु एक अर्ब ६० करोड लगानी भएको छ ।

म्याग्दी जिल्लामा हालसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समितिले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्षसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका थिए । सबै उद्योगमा गरी करिब रु एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ ।

म्याग्दीमा कुखुरापालन, कुटानीपिसानी मिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अनुसार जिल्लामा २१२ कुखुरापालन, ७६ कुटानीपिसानी, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् ।

यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजारजनाले रोजगारी प्राप्त गरेका र मासिक रु ३० करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ ।

अघिल्लो आर्थिक वर्षमा ५३ वटा नयाँ साना उद्योग दर्ता भएकामा आर्थिक वर्ष ०६९/७० को असारसम्म १२७ नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आएको समितिका वरिष्ठ उद्योग अधिकृत रमेशराज रेग्मीले जानकारी दिनुभयो ।